Wednesday, April 22, 2015

अनुभूतिमा रुमल्लिए पनि...

सम्झनाबाट खुइलिएर हाराइसकेका खुशीका पलहरु कतै फेरी रंगिन भएर आउने त होइन ? फेरी जिन्दगीका रंगिन पलहरु आउने आशाले उनका नयनहरु चम्किएका थिए अनि ओइलाएका उनका चेहेरामा खुल्दै गरेको बिहानी झैँ भै मुस्काउदै थिए ! अघिपछि देख्नेले यत्तिकै पनि अड्कल गर्न सक्थे कि, नयाँ रंगहरु उनका जीवनका पानाहरुमा बिस्तारै बिस्तारै पोतिदै थिए !

सदाका दिन भन्दा आजको दिन खुला थियो अनि सुन्दर पनि , उनको लागि, उनको लागि  भए पछी मेरो लागि पनि ! किनकि उनको निराश अनुहार अनि निरस बोलीले मलाई कता कता खल्लो महसुश गराउन्थ्यो ! मन खुल्ला अनि खुशी भए पछी, मौसम अनि वरिपरिका परिवेशहरु उसै पनि राम्रो लाग्ने ! उनको चेहेरामा कुदेको खुशीले मन तेसै खुशी थियो ! मेरो उपस्थिति उनलाई कस्तो लाग्थ्यो कुन्नि, तर उसको उपस्थिति मलाई मन पर्थ्यो, सयाद त्यसैले होला उनका खुशी अनि दु:खका रेखाहरुसंग परिचित हुन खोज्थे मेरा मन !
              थाहा थिएन उनको खुशीको कारण तर मेरो खुशीको कारण त ऊ नै थियो, हिजो दुखि नि उसकै कारणले थिएँ ! मन हो, बसमा बस्न नमान्दो रहेछ, बाँधेर राख्न नि सकिन्न ! उही मनले त हो नि, स्वतन्त्रता दिलाएको छ ! र नै उनको नजिक पुगेकी छु, मनैमनको बाटो गरी मनसम्मको यात्रा ! तर त्यो यात्रा फगत यात्रा थियो कुनै अभिलाषा रहेन, रहे पनि अभिलाशामै सिमित ! जोडिने मनहरु मनसंगै जोडीन्थे होला, तर फरक बाटो पहिल्याएको पाइलाहरु कहाँ भेट हुन्छन र ! गन्तव्यहरु त फरक थिए नै, हिड्ने बाटोहरु नि फरक, अनि हिडाईहरु पनि ! 
           
           सोंचे, सिमल जति फुले पनि अन्त्यमा भुवा बनि कता हो कता उडीजान्छ, हावाको एक्कै झोक्कामा उडेर हावामै बिलिन हुन्छ ! तेस्तै कति कुराहरु जति मिठा अनि रशिला भए नि भित्र भित्रै नामनिशाना नरहिने गरि मेटिन्छन् ! उनिसम्म मेरो मनको यात्रा पनि, तेस्तै मै भित्र बिलाएछ !
        उनमा छाएको खुशीका रंगहरु उनको आफ्नै "उनि"को साथले भन्ने विस्तारै थाहा भए पछी, मनका सारा आशाहरु आफै भित्र मार्न बाहेक अरु के पो गर्न सक्थे र ! सायद उसंगको सामिप्यता त्यहिसम्म थियो जहाँ भेट भएको थियो ! साथि थियो साथ जरुर तर खोजेको साथ साथि मात्रै होइन, त्यो भन्दा अलिकति माथिसम्म थियो ! दुनियामा चाहेको कुरो पुरा हुनु पर्छ भन्ने पनि छैन, यहि सत्यतालाई आत्मसात गरि अगाडी बढ्नु नै भलो उचित हुने कुरो पनि बुझेकी थिएँ ! त्यागिहरुले भन्ने गरेको सुनेकी थिए, पाउनु भन्दा गुमाउनु सहि अर्थमा चाहनु हो ! तर मैले त कहाँ पाएको थिए र, नपाएको चिजलाई गुमाएँ भनेर अदार्श छाँटदिन !
       यौवनका फूलहरु सुन्दर हुन्छन, र नै लोभिन्छन/लोभिन्छौ सबै ! कतै उजाड जीवनका उजाड बगैंचाहरुमा एक सुन्दर जिउने आधार बनि रहन्छ ! त्यसरी नै उनि उसको जीवनमा एक सुन्दर जिउने आधार बनि आइन ! कुनै रिस, राग, डाह थिएन उनि प्रति किनकि मनले चाहेको उसको खुशी थियो, त्यहि खुशी उसले पाउदैछ भने म कसरी कसैसंग मुख मोड्न सक्थे र ! सत्य पनि हो कि, कताकता थोरै उसको कमि महसुश नभएको भने पक्कै होइन तर उसंग कल्पनामा त्यति धेरै गहिराइसम्म डुबेकी पनि थीइन ! उसको हर खुशीमा मेरो उपस्थिति पनि उसको लागि जरुरत थियो, किनकि म पनि एक प्रकार उसको जीवनको एक हिस्सा थिएँ ! सायद जिउने आधार एउटा मात्रै भएर हुन्न हामीलाई, जीवनसाथी एक जना भए पनि जिउने साथ धेरै चाहिन्छ ! यहि कुरोमा उ पृथक हुन सकेन ! 
     साथीको साथमा साथ दिनु साथीको कर्तव्य हो ! जीवन त चलिरहन्छ नै, रोक्छ के ले ! कतै रोकिएको अनुभूति भए पनि चलिरहेकै हुँदो रैछ, चाहे कठिन किन नहोस्, समयको चक्रमा घुम्नु पर्ने जो यथार्थ छ  जीवनको ! जिन्दगीलाई भुल्न खोजे पनि जिन्दगिले कहिलै भुल्दैन रहेछ ! आफैसंग डोर्याएर हिडाउने जिन्दगीको आफ्नो यथार्थ कहिलै नभुल्दो रै'छ !
साभारः मन्दिरा..

No comments:

Post a Comment