- क्रान्ति शाह
| २०७२ बैशाख १९ शनिबार
भूकम्पमा परी घाइते भएकी एक महिलालाई उपचार गर्ने क्रममा यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले वीरगन्जको नेसनल मेडिकल कलेजका चिकित्सक रेडियोलोजिस्ट निशान्त यादवलाई नियन्त्रणमा लिएको छ।
मेडिकल कलेजको एमआरआई वार्डमा कार्यरत वीरगन्ज १८ भिस्वाका यादवमाथि सर्लाही घर भई महोत्तरी बर्दिबासमा कार्यरत नेपाली सेनाका जवानकी २२ वर्षीया पत्नीलाई शुक्रबार यौन दुव्र्यवहार गरेको आरोप लागेको हो।
भूकम्प गएको बेला बच्चा लिएर भाग्ने क्रममा ढोकामा ठोक्किएर महिलाको टाउको र ढाडमा चोट लागेको थियो। बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकको सिफारिसमा महिलालाई बिहीबार नेसनल मेडिकल कलेजमा ल्याइएको थियो।
शुक्रबार दिउँसो एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीले आफ्नी पत्नीसँग जबरजस्ती गरेको उनका पतिको दाबी छ। एमआरआई गर्न पत्नीलाई वार्डभित्र लगेपछि ती स्वास्थ्यकर्मीले आफूलाई पटकपटक बाहिर जान दबाब दिएका कारण आफू बाहिर बसेको उनले बताए।
दुई घन्टापछि वार्डभित्रबाट बचाऊबचाऊ भन्ने आवाज आएपछि आफू बलजफ्ती वार्डभित्र पसेको र पत्नीलाई अर्धनग्न अवस्थामा फेलापारेको उनले बताए।
पत्नीले आफूसँग जबर्जस्ती गर्न खोजेको सुनाएपछि ती स्वास्थ्यकर्मीलाई खोज्दा उनी टेबुलमुनि लुकेको अवस्थामा भेटेको सैनिक जवानको दाबी छ।
उनले रिसले स्वास्थ्यकर्मीको मुखमा मुक्का हानेको सुनाए। आफूले होहल्ला गरेपछि अस्पतालका कर्मचारीले विभिन्न प्रलोभन दिएर घटना मिलाउन दबाब दिए पनि नमानेपछि प्रहरीले स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको उनले बताए।
प्रहरीनिरीक्षक शेख अदालतको नेतृत्वमा अस्पताल आएको प्रहरीको टोलीले आरोपित स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो। आरोपित डाक्टरलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
'महिलाले आरोप लगाउँदैमा आरोप प्रमाणित हुँदैन', प्रहरी नायबउपरीक्षक वीरबहादुर ओलीले भने। घटनाबारेमा अनुसन्धान भइरहेको उनले बताए। 'एमआरआई गर्दा कपडा हटाउनुपर्ने भएकाले हटाएको हुँ, त्यस्तो केही गरेको होइन', यादवले भने।
No comments:
Post a Comment