नेपालका सबै सवारी साधनहरुमा मेसिनले पढ्न मिल्ने ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गर्ने तयारी भएको छ ।
लाईसेन्सलाई स्मार्टकार्डमा रुपान्तरण गर्न सुरु गरेको यातायात व्यवस्था विभागले अब फेरी अर्को उदाहरणीय काम गर्ने भएको हो । रेडिमेड इम्बोस्ड नम्बर प्लेटको आपूर्तिका लागि यातायात व्यवस्था विभागले टेन्डर आह्वान समेत गरेको छ । हस्तलिखित नम्बर प्लेट प्रयोग भइरहेका बेला विभागले आधुनिक इम्बोस्ड नम्बर प्रणालीमा लागु गर्ने निर्णय गरेको हो ।
यो योजनासँगै बिभागले ५ वर्षभित्र २० लाख सवारीमा डिजिटल तथा अत्याधुनिक नम्बर प्लेटको जडान गरिसक्ने लक्ष्य लिएको छ । यो लागु भएको खण्डमा नेपालमा अब ५ किसिमका मात्र नम्बर प्लेट हुनेछन् । यस अघि १४ किसिमका नम्बर प्लेट हुने गरेको थियो ।
ट्राफिक तथा प्रहरीसँग हुने हाते मेसिन र विभिन्न ठाउँमा राखिने ठूला मेसिनहरुले रिड गर्न मिल्ने उक्त नम्बर प्लेट सूचनामूलक र उच्च सुरक्षायुक्त हुने साथै प्लेटमा सवारी र सवारीधनिका सबै विवरणहरु राखिनेछ ।
इम्बोस्ड नम्बर प्लेटको बिशेषता
यो नम्बर प्लेट सवारीको अगाडी र पछाडी राखिन्छ । यसको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिएको हुन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न भने मिल्दैन । निकालेमा त्यसलाई काट्नै पर्ने हुन्छ त्यसकारण पनि कसैले सवारी चोरी गरेर चलाउन सक्दैनन् । किनभने यो प्रविधिको नम्बर प्लेट विभाग आफुले मात्र वितरण गर्नेछ ।
इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीपसहितको स्टीकर टाँस्छ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिएका हुन्छन् । जसमा सवारी धनी र सवारीका विभिन्न विवरणहरु पढ्न मिल्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेक जाँच गर्न सक्छ । स्मार्ट ब्लु-बुक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई समेत सवारी चेकजाँचमा सहज हुनेछ ।
यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिन सहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले अटो रिड गरेर कम्युटरमा इन्ट्री गर्नेछ । काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ ।
यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । इम्बोस्ड नम्बर प्लेट राख्न भने सवारी धनीले निश्चित रकम तिर्नुपर्ने हुन्छ । एउटा सवारीको नम्बर प्लेट परिवर्तन गर्न २५ सय रुपैयाँ लाग्ने अनुमान छ । एकपटक इम्बोस्ड नम्बर प्लेट राखेपछि त्यसको आयु १० वर्षसम्मको हुनेछ ।
यो हस्तलिखित राहदानी परिवर्तन गरेर एमआरपी लिए जस्तै भएकाले यति शुल्क लिने कुरा स्वभाविक हुने बताइएको छ ।
No comments:
Post a Comment