Thursday, April 23, 2015

प्रिय "Samsung Galaxy Grand 2" लाई सम्झिदै

जीवनले कहिले खुशी दिन्छ, कहिले दु;ख ! तर कहिले, कहाँ, कसरी, कति भनेर छुट्याउदैन ! सायद, यो उसको गोप्यता होला अनि हाम्रो नियति ! रित नै हो कि कसो, समय हो या जीवन, चिन्न नि गाह्रो ! तिनै जीवन/समयले दिने खुशी, कतिको भागमा धेरै पर्ला कतिको भागमा थोरै ! चाहेर के पो पाइन्छ र यहाँ ! पाएको खुशी त खोसिन्छ यहाँ, जोगाएर राख्ने मुस्किल ! उफ, कस्तो सहर होला यो ?!

      बिहानको जाडो छिचोल्दै म कार्यालय हाँजिर भएँ, तेस्तै बिहान ८/९ बजेको हुँदो हो ! एक महिना अगाडी देखि एउटा ड्रिम प्रोजेक्ट गर्दै थियौं हामीले ! लगभग अन्तिम तिर पुग्दै थियो काम ! भोलि हाम्रो डिरेक्टर सर दुबाई जादै हुनुहुन्थ्यो ! त्यसैको लागि, हामी सबै स्टाफ आआफ्नो तरिकाले डकुमेन्ट्स तयार गर्न लागि परेका थियौ ! दिनभरिको दौडधुपले पनि काम नसकेर हामीले रातमा पनि काम गर्ने निधो गर्यौ ! दिउसो, काम गर्दा गर्दै मलाई चिसोले नराम्रोसंग दु;ख दियो ! रुघाखोकी, टाउको दुखाइले एक्कासी सताउन थाल्यो ! र पनि एन्टी कोल्ड मेडिसिन साइनेक्स लिदै काम गरें ! लगभग रातको २ बजे काम सकेर, हामी सरकै घरमा बस्न भनि गयौं ! म्यामले खाना तयार गर्नु भएको रहेछ ! म दंग परें, त्यति राति पनि उहाँले परिकार तयार गर्नु भएको देखेर ! सायद एक जना महिला, जो घर धन्दामा सिमित भएर श्रीमानको आज्ञा पालन गर्नुको एक बेफाइदा थियो होला त्यो ! चिसो रातको दुइ बजे पनि उठेर खाना तयार गर्नु !
  मन नमिठोसंग दुख्यो ! तर भोकले पेट बटार्दै गर्दा धेरै बेर टिक्न सकेर त्यो, मन दुखाइ ! तात्तात्त्तो खाना खाएर हामी ३ बजे तिर सुत्यै क्यार ! भरे बिहान ७ बजेको बोर्डिंग पास लिएर दुबाई जानु थियो सरले ! सोचें, ६ बजे उठ्नु पर्छ, अनि मैले पनि आफ्नो रुम जानु पर्छ ! जम्मा ३ घण्टा थियो आराम गर्नका लागि !
  प्राय म आफ्नो मोबाइल सिरानीमा राखेर सुत्ने गर्छु ! इना दिदीले धेरै पटक गालि गर्नु भएको छ, सिरानीमा मोबाइल राखेर नासुत्नु भनेर ! र पनि टेर्दीन थिएँ म ! तर त्यो दिन, जम्मा ३ घण्टा मात्रै सुत्न पाउने भएर, ब्यागबाट मोबाइल झिकिन ! सोचें, बिहानै ब्याग बोकेर हिड्नु छ, तेतिन्जेल कसले पो फोन नि गर्ला र, भनि छेउको टेबलमा ब्याग राखेर सुत्यौ ? दिनरातको थकानले ज्यान थिलथिलो भएको थियो, तै माथि रुघाखोकी ! सानोतिनो बिरामी नै भएको महसुश हुदै थियो ! भुसुक्कै निदाइएछ, कति बेला थाहै भएन !
  बिहान ६ बजेको हुदों हो, सपना नराम्रो देखेछु अनि झस्किएर बिउझिएं ! यत्तिकैमा, झ्यालमा मेरो ब्याग झुन्डिएको देखें ! सुरुमा मनले सोच्ने सकेन ! एकप्रकारको डरले काप्न थाले ! अनि बिस्तारै ब्याग तानेर हेरें ! म आत्तिएँ, मुटु बाहिर निस्किएला झैँ गरि उफ्रिन थालेछ ! खालि थियो मेरो ब्याग ! न मोबाइल, न पैसा, न मेरो इन्टरनेट डिभाइस न पेनड्राइभ !?? झ्यालबाट चोरले कति बेला हो, चोरेर सब्बै लगेछ ! नागरिकता, एटिएम कार्ड र अन्य कागजहरु भने झ्याल बाहिर फालिएको रैछ, गोपाल सरले टिपेर ल्याइदिनु भो ! म त आत्तिएको थिएँ ! मेरो होस् हवास उडी सकेको थियो ! आँखा भरि आशु बनाएँ ! डाको छोडेर रुन मन थियो ! तर सबैको अगाडी कराउन सकिन, सम्हालिएँ ! सरले जे नहुनु थियो भैगो, चिन्ता नगर्नु दुबाईबाट तेस्तै मोबाइल ल्याइदिन्छु ! भन्नु भो ! र पनि मनले कहाँ मान्छ र ! आफ्नो कमाइले किनेको एउटा धागोको त्यान्त्रोको त माया हुन्छ ! हवाँहवाँ रुन मन लाग्यो झन ! दु;ख पर्दा सहानुभूतिले पनि मन नबुझाउदो रैछ ! त्यहाँबाट हामी निस्कियौ ! नबिन सर दुबाई जादै हुनुहुन्थ्यो, अम्बिका, गोपाल सर आफ्नै रुम अनि म पनि !

बाटो भरि सम्झिएँ,  
      सधैं दादाले चलाउनु भएको पुरानो मोबाइलले काम चलाउथे म ! रहर थियो, ठुलो स्क्रिन भएको स्क्रिन टच एन्ड्रोड वाला स्मार्ट फोन चलाउने ! ५ महिना अगाडी, महिनमा ५ हजार तिर्ने सर्तमा अफिसबाट ३० हजार लोन लिएर किनेको थिएँ, Samsung Samsung Galaxy Grand 2 !  अझै लोन तिरिसकेकी थीइन ! बिचमा गाह्रो भएर लोन नकाट्न भनेर अकाउन्टमा आग्रह गरेकी थिएँ ! त्यसैले बाँकी नै थियो ! त्यो भन्दा अगाडी, नि धेरै पटक मोबाइल हराएकी थिएँ, यत्ति गाह्रो भएको थिएन ! किनकि, तिनीहरु बाध्याताले लिएकी थिएँ ! कुनै गाडीमा छुटे, कुनै पाकेटमारले गाडी बाटै थुती दिए ! तेत्तिका मोबाइल हराउदा कहिल्लै रोएकी थिइन, आफ्नो बेहोसीलाई धिकार्थे मात्रै ! तर यसपाली मन दुख्यो, असाध्यै ! सोचें, आफ्नो प्रिय चिजहरु धेरै दिन आफुसंग रहदा रैनछ्न !
     त्यो मोबाइल लिदाँ यति धेरै खुशी थिएँ कि, मानौं मेरो बर्षौ अगाडिको ठुलो सपना पुरा भयो ! एक्लो हुदाँ, मेरो साथि, आमा-बुवा, दाइ-भाइ सबै तै थियो ! म त्यसैमा भएको एप्लिकेसन्समा घन्टौ भुलिन नि सक्थे ! मैले कमाएको पैसाले किनेको पहिलो मेरो महँगो चिज भनेर म दंग पर्थे ! फोटोग्राफीमा रुची राख्ने म, मलाई मन पर्ने दृश्यहरु धेरै कैद गरेकी थिएँ त्यसमा ! मेरा हरेक रमाइला पलहरुलाई त्येसैमा कैद गरेरे राखेकी थिएँ ! तर अब तस्बिर बनि बसेका ति हरेक पलहरु मेरा साथ् छैनन् ! मोबाइल र पेनड्राइभ चोरिए संगै चोरिए ति पनि ! ल्यापटप पनि फर्मेट गर्नु पर्ने भएकोले त्यहाँ पनि राखेकी थीइन ! एउटा नमिठो गल्ति गरें, दशैँ यता जिमेल लग इन नगरेर ! होइन भने, सबै गुगल+ मा सेभ भएर बस्थे !
  अनि जम्मा-जम्मी ३/३२ सय पैसो थियो क्यार, दिउसो निउरोड़ गएर जाडोमा लाउने फर्मल जुत्ता लिन्छु सोचेकी थिएँ ! अनि बाँकी रहे अरु जाडो कै समान किन्ने विचार गरेकी थिएँ ! त्यो पनि लग्यो ! 
   मानौ त्यो बेला मेरो सारा सपना अनि मेरो हरेक चिज चोरियो ! म रित्तो थिएँ, फगत रित्तो ! अब बाँकी मसंग केहि छैन ! हुन पनि किन नहोस ! एक साधरण परिवारकी छोरी म, अभावहरुसंग संघर्ष गर्दै काठमान्डौमा पढ्न बसेकी छु ! एउटा सानो जागिरको भरमा जीवन र पढाई धान्दै गरेको एक बिद्यार्थी ! ३०-४० हजार चोरी हुनु, म र म जस्ताको लागि ठुलै सम्पत्ति चोरिनु हो झैं लाग्ने ! कसैको लागि, यति चुट्कीको भरमा हातमा आउला, तर हामी जस्ताका हातमा आउन, बर्षौ कुर्नु पर्छ ! के गर्ने, डिग्रीले धान्ने जतिको रोजगार पाउन मुस्किल छ ! पाएको रोजगारीले, जीवन धन्न धौ-धौ हुन्छ ! मन यसै भाँचिएर आउछ, सम्झिदा ! फेरी, ति बुढो भएका बा-आमाको याद आउछ ! छोरीले धेरै पढेर गतिलो जागिर पाउली नि, भन्ने सपना देख्दै गरेका ति बुढो आँखा र मनलाई सम्झिन्छु ! अनि यस्ता दु;खहरु भुल्ने कोसिश गर्दै अगाडी बढ्ने कोसिशमा लम्किन्छु !
      दुई-चार दिन त यसै न्यास्रो भएर गए ! दुइ दिन त रोएरै बिते ! साथीसंग रहदा मन भुलिन्थ्यो, तर एक्लै भयो कि भक्कानिएर आउने ! ज्यान यसै बिरामी मन पनि बिरामी, कहाँ जाउ के गरूँ, कसलाई सुनाउ जस्तो ! 
      सामान चोरिए पनि, आत्मसम्मान र आत्म चोरिएको छैन ! जिउने आँट र केहि गर्ने अठोट चोरिएको छैन ! जीवन सधै उस्तै हुन्न, कहिले घाटामा जान्छ, कहिले नाफामा ! नाफा-घाटाको समायोजनमा भविष्य बुन्दैछु !

No comments:

Post a Comment