स्याङ्गजाको किचनास ९ सालडाँडामा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ३५० जना लाभान्वित भएका छन् । लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले स्थानीय मन्दिरचोक युवा क्लब सँगको सहकार्यमा स्याङ्गजाको किचनास ९ सालडाँडाको भोज प्रकाश उच्च मा.विको खेल मैदानमा शिविर आयोजना गरेको थियो ।
सालडाँडामा आयोजित शिविरमा ३५० जनाले आँखाको परीक्षण गराएकोमा १७ जनामा मोतियाबिन्दुको समस्या पाइएको लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजका अध्यक्ष शिवराज आचार्यले बताए ।
मोतियाविन्दु पहिचान भएका बिरामीलाई हिमालय आँखा अस्पताल, पोखरामा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको मन्दिर चोक युवा क्लबका अध्यक्ष लोकेन्द्र मानन्धरले जानकारी दिए । शिविरमा स्याङ्गजाको किचनास, ओरष्टे, कोल्माबराहचौर र तनहूँको राईपुर गाविसका बिरामीले सेवा लिएका थिए ।
शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श, औषधि र चस्मा वितरणको सुविधा दिइएको भोज प्रकाश उच्च मा.बिका प्राचार्य सुरज मानन्धरले जानकारी दिए ।
No comments:
Post a Comment