Sunday, November 8, 2015

पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको पर्व यमपञ्चक सुरु

पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । 

तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक कृष्ण चतुर्दशीका दिन मङ्गलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३६, र म्हः(आत्म) पूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन शुक्रबार भाइटीका लगाई तिहारको समापन गरिन्छ । 


कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । 


यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । आधुनिक सञ्चारको सुरुवात् हुनुअघि कागको गोडामा सन्देश भुन्ड्याएर पठाउने गरिन्थ्यो । यसैले कागलाई सन्देशबाहक पनि भनिन्छ । घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घरअघि आएर कराउँदा उसले केही सन्देश भनेको भनी विश्वास गर्ने प्रचलन छ । 


आजको दिन कागलाई पूजाआजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतका रुपमा पनि लिइन्छ । 


तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजाको पनि पूजा गर्ने धार्मिक विधि रहेको छ।
लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ ।

No comments:

Post a Comment